पक्राउ परेका सबै पत्रकार रिहा, सञ्चारमन्त्रीले दिए जानकारी
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा। विक्रम तिमिल्सिनाले शुक्रबार पक्राउ परेका सबै पत्रकार रिहा भएको जानकारी दिएका छन् । मन्त्री तिमिल्सिनाले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत पक्राउ परेका सबै पत्रकार रिहा भइसकेको बताएका हुन् ।
‘पक्राउ परेका सबै पत्रकारहरू रिहा भएका छन्,’ उनले लेखेका छन्, ‘सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ । प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारिता लोकतन्त्रका आधारस्तम्भ हुन् ।’
शुक्रबार प्रहरीले विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको थियो । नेपालप्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी, डिएनखबरका धीरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराललाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
यस्तै, नयाँ पत्रिकाका पत्रकार नवराज मैनालीलाई नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी पत्रिकाको कार्यालयमै पुगेका थिए । मैनालीलाई नलिई नफर्किने अडानसहित प्रहरी टोली दुई घण्टाभन्दा बढी समय कार्यालयमा बसेको थियो ।
पछि शुक्रबार साँझ प्रहरी टोलीले पत्रकार मैनाली र नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तलाई शनिबार साइबर ब्युरोमा उपस्थित हुन निर्देशन दिँदै कार्यालयबाट बाहिरिएको थियो ।
पत्रकारहरूलाई समाचार प्रकाशित गरेकै आधारमा नियन्त्रणमा लिइएको घटनाप्रति विभिन्न सञ्चारमाध्यम तथा राजनीतिक दलहरूले आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका थिए ।
सूचना (Source Notice)
यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्