समाचार कक्षबाट पत्रकार पक्राउ गर्ने कार्य तत्काल रोक्न महासंघको माग
काठमाडौँ । नेपाल पत्रकार महासंघले समाचार कक्षबाटै पत्रकारलाई पक्राउ तथा नियन्त्रणमा लिने कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ । महासंघले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिनु प्रेस स्वतन्त्रता र संविधानविपरीत भएको जनाएको छ ।
नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिएका छन् । उनले समाचार कक्षमा बर्दीधारी प्रहरी प्रवेश गरेर पत्रकारलाई पक्राउ गर्नु नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भएको बताएका छन् ।
‘यो अकस्मात् राज्य आतंक सुरु भएको देखिएको छ। हरेक समाचार कक्षमा बर्दीधारी प्रहरी गएर समाचार कक्षबाट पत्रकारलाई उठाउने (नियन्त्रणमा) लिने कुरा नेपालको संविधान, प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानुनहरूको उल्लंघन हो,’ महासचिव दाहालले भने ।
यस्तो कार्य तत्काल रोक्नुपर्ने माग गर्दै उनले राज्यले पत्रकारलाई त्रसित बनाउने गतिविधि बन्द गर्नुपर्ने बताए । महासचिव दाहालले समाचार कक्षबाट पत्रकारलाई नियन्त्रणमा लिने कार्य नरोकिए महासंघ आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनीसमेत दिएका छन् ।
‘यसलाई तत्काल रोक्नुपर्छ। राज्य आतंक नरोकिए यो खेदजन्य कार्यविरुद्ध आन्दोलित हुनुको विकल्प छैन,’ उनले भने । महासंघले प्रेस स्वतन्त्रताको सम्मान गर्दै पत्रकारलाई निर्वाध रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सूचना (Source Notice)
यो समाचार biznessviews को RSS फिडमार्फत स्वतः संकलन गरिएको हो।
मूल समाचार वेबसाइटमा हेर्नुहोस्